
विराटनगर। देशभर फैलिएको मनसुनका कारण परेको अविरल वर्षापछि बाढी र पहिरोले अवरुद्ध बनाएका सडकहरूमध्ये १० स्थानमध्ये ७ स्थानमा यातायात पुनः सञ्चालनमा आएको छ। तर, अझै ३ स्थानमा सडक सञ्चालन हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार नवपलासी बर्दघाट सुस्तापूर्वस्थित विनयी खोलामा डाइभर्सन बगाउँदा सडक अझै अवरुद्ध नै रहेको छ। सोही स्थानमा यात्रुबाहक गाडी बगाएको घटना भएको थियो भने यात्रुहरूको सकुशल उद्धार गरिएको थियो।
यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–७ जङ्गडाँडामा पहिरोका कारण घोराही–रुकुम सहिदमार्ग पूर्णरूपमा अवरुद्ध छ। त्यस्तै, पाल्पाको तिनाउ नगरपालिका–३ स्थित सुरुङमार्ग क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्गसमेत बन्द भएको छ। यी तीनै स्थानमा सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
त्यसैगरी, ललितपुरको बागमती गाउँपालिकास्थित अवरुद्ध कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टार, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीको कालिगण्डकी करिडोर क्षेत्र पहिरो हटाएर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
जुम्ला–मुगु सडक र डोल्पाको भेरी करिडोरसमेत एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको र दुवै तर्फ सुचारु गर्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।
देशभर मनसुन सक्रिय भएकाले पहिरो तथा बाढीको जोखिम कायमै रहेको र सतर्कता अपनाउन प्रहरीको अनुरोध छ।