
विराटनगर । मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय सडक विस्तार योजना लहान नगरपालिकाबाट सुरू गर्ने घोषणा गरेको छ। प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।

उनका अनुसार लहानको उत्तरी भेगमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र काब्रे महादेवलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माण कार्य अघि बढाइनेछ। “अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसाय प्रवर्द्धन गर्नुका साथै धार्मिक तथा आन्तरिक पर्यटनलाई विकास गर्नु मुख्य उद्देश्य हो,” मन्त्री यादवले बताए।
सडक पूर्वाधार विकासले मधेस प्रदेशको आर्थिक अवस्थालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले भने, “धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन मार्ग सहयोगी हुनेछ।”
त्यस्तै, मन्त्री यादवले लहान नगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रशंसा गरे। शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारको आवश्यक साथ रहने उनले प्रतिबद्धता जनाए।
साथै, लहानको खुट्टी नहर पुनःसञ्चालनका लागि प्रदेश सरकारले बजेट छुट्याउन नसकेको आलोचनाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्था गरिने बताए। “किसानहरूको माग बेवास्ता गरिन्न,” मन्त्री यादवको भनाइ छ।
लहान नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। २४ वडा रहेको लहान नगरपालिका सिरहाको सबैभन्दा ठूलो नगरपालिका हो।