
विराटनगर । युद्धग्रस्त इरानमा फसेका आफ्ना नागरिकहरूको सफल उद्धार गर्दै भारतले थप ३१० जनालाई विशेष विमानमार्फत स्वदेश फर्काएको छ। ‘अपरेशन सिन्धु’ नाम दिइएको यो उद्धार अभियानअन्तर्गत शनिबार बिहान विशेष विमान दिल्लीस्थित विमानस्थलमा अवतरण गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इरानबाट ३१० भारतीयहरू स्वदेश फर्किएको पुष्टि गरेका छन्।
यसअघि पनि भारतले इरानबाट ११० जना भारतीय विद्यार्थीहरूलाई विशेष उडानमार्फत फर्काएको थियो। ती विद्यार्थीहरूलाई पहिले इरानबाट आर्मेनिया पुर्याइएको र त्यसपछि विशेष विमानमार्फत दिल्ली ल्याइएको बताइएको छ।
इजरायल र इरानबीच जारी तनाव र युद्धको स्थितिका कारण भारतीय सरकारले आफ्ना नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै उद्धार कार्यलाई तीव्रता दिएको छ। भारतीय अधिकारीहरूका अनुसार हालसम्म ‘अपरेशन सिन्धु’ अन्तर्गत कुल ८२७ जना भारतीयहरूलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गरिसकिएको छ।
भारतीय विदेश मन्त्रालयले आवश्यक परेमा थप उद्धार उडानहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको छ।