कांग्रेस पार्टीको महाधिवेशनसँगै चुनावी प्रचारमा जुट्ने

काठमाण्डौ ।  नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनसँगै चुनावी प्रचारमा पनि जुट्ने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच चुनाव अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस केन्द्रित थियो । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले अब महाविधेशनसँगै चुनावको पनि विषय सँगसँगै लिएर गाउँ जाने बताउनुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लामो छलफल र बहसपछि महाधिवेशनमा सर्वसम्मति भएको बताउँदै अब सबै मिलेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र चुनावमा लाग्न एकताबद्ध भएर कसरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

यसैबीच कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय निक्कै कम भएको बताउनुभएको छ । चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले समय कम भए पनि अब पार्टीका नेता÷कार्यकर्ता सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने बारेमा नेता शेखर कोइराला पनि इच्छुक रहेको हुँदा कुराकानी भैरहेको र आफूहरु दुईजना मध्ये एक जनाले सभापतिमा लड्ने डा. शशाङ्क कोइरालाले बताउनुभयो ।