भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा कांग्रेस नेता शाहीविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका प्रतिवादीलाई सफाइ दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसला चित्त बुझ्दो नभएको भन्दै हिजो सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो ।

नेपाल वायुसेवा निगमका लागि दुई वटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले यसअघि दायर गरेको मुद्दामा विशेष अदालतले गएको वर्ष फैसला सुनाएको थियो ।

फैसलामा केही प्रतिवादीलाई दोषी ठहर गरिए पनि जीवनबहादुर शाहीलगायतका केही प्रतिवादीलाई सफाइ दिइएको र दाबी अनुसारको बिगो तथा सजाय नभएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो । अख्तियारले वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबी गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा विमानको भारवहन क्षमता र मूल्य वृद्धिका नाममा बदनियतपूर्ण ढंगले रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको उल्लेख छ ।