काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चाेकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अभियोगमा महानिर्देशक अधिकारीसहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिकङ प्रालिका निर्देशक विजय थापा, इन्जिनियर गुरुदत्त थापा र अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
विशेष अदालत काठमाण्डौमा दायर भएकाे मुद्दामा अख्तियारले प्रतिवादीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरेको छ ।
ईआईए नगरि आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेको लगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
हिजै अख्तियारको कार्यालयमा बयान दिन गएको बेला अख्तियारको टोलीले क्यानका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको थियो ।