
विराटनगर । अमेरिकाले इरानको आणविक स्थलहरूमा बम प्रहार गरेपछि इरानले इजरायलतर्फ दुई वटा मिसाइल प्रहार गरेको छ। उक्त आक्रमणका कारण मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका छन्।

इजरायलको उद्धार संस्था म्यागेन डेभिड एडोम (एमडिए) ले जारी गरेको विज्ञप्तिअनुसार घाइतेहरूमध्ये एक ३० वर्षीय व्यक्तिको अवस्था मध्यम छ, जसको शरीरको माथिल्लो भागमा गोलीको छर्रा लागेको छ। सबै घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ।
स्थानीय समय अनुसार बिहान ७:३० बजे इजरायलमा दुई लहरमा मिसाइल प्रहार भएको जानकारी दिइएको छ। सार्वजनिक प्रसारण संस्था क्यान ११ ले मध्य इजरायलमा भग्नावशेषले ढाकिएको भवनको दृश्य प्रसारण गरेको छ।
मिसाइल हमला भएसँगै देशभरि साइरन बजेको र इजरायली वायु सुरक्षा प्रणाली सक्रिय भएर तेल अभिव र जेरुसेलम क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको जनाइएको छ।
उत्तर इजरायलको हाइफा बन्दरगाह क्षेत्रमा समेत हतियारका टुक्रा खसेको रिपोर्ट गरिएको छ। स्थानीय प्रशासनले आपतकालीन सेवाहरू घटनास्थल पठाइएको जानकारी दिएको छ।
इजरायली सेनाका अनुसार जुन १३ मा इरानसँगको युद्ध सुरु भएयता हालसम्म देशभर ५० मिसाइल आक्रमण भएको र २५ जनाको मृत्यु भइसकेको छ।
तेल अभिव, बेयरसेबा र हाइफा इरानद्वारा सबैभन्दा बढी लक्षित क्षेत्रका रूपमा चिनिएका छन्। इजरायली सेनाले करिब १ हजार ड्रोन र ४५० भन्दा बढी मिसाइल निस्तेज पारिसकेको दाबी गरेको छ।