सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह– ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

प्रधानमन्त्रीले हिजो बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायलगायत चुनावसँग प्रत्यक्ष जोडिएका निकायहरू तयार रहेको जनाउँदै प्रतिनिधिसभाको चुनाव फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ’ भन्नुभएको छ ।

गएको भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्रीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह समेत गर्नुभयो । नवयुवादेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उहाँको भनाइ छ ।

बालुवाटारमा भएको बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूले चुनावको प्रचारप्रसार स्वतन्त्र रूपमा हुने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए । दलहरूले बैठकमा शान्ति–सुरक्षालाई प्राथमिकतासाथ उठाएका हुन् ।

तर प्रधानमन्त्री कार्कीले तोकिएको मितिमै चुनाव हुने प्रतिबद्धतासहित शान्ति–सुरक्षाका विषयमा पनि ढुक्क रहन आग्रह गर्नुभयो ।