मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशुको हत्या आरोपमा छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को निरन्तरको प्रयासपछि शव भेटिएको झण्डै डेढ महिनापछि हत्या आरोपमा स्थानीय पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । अधिकारी बालिकाको छिमेकी भएको स्रोतको भनाइ छ ।

गत असोज २१ गतेदेखि बेपत्ता रहेकी बालिकाको शव कुहिएको अवस्थामा कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा फेला परेको थियो । हत्यामा संलग्न पक्राउ नपर्दा मोरङ प्रहरीका लागि टाउको दुखाइ बनेको थियो । बेपत्ता भएको ६० दिन र शव फेला परेको ४३ दिनपछि मंसिर १९ गते शुक्रबार बालिकाका छिमेकी अधिकारी पक्राउ परेको स्रोतले  बतायो ।

शुक्रबार नै पक्राउ परे पनि थप अनुसन्धान गर्नुपरेका कारण प्रहरीले अधिकारीलाई सार्वजनिक भने गरेको छैन । स्रोतका अनुसार अधिकारीका मृतक बालिकाभन्दा २ वर्ष कान्छी नातिनीसमेत छन् ।

करिब ५२–५५ वर्षका अधिकारी बालिकाको खोजीमा समेत हिंडेको स्थानीय स्रोतले जनाएको छ । ‘छोराछोरी र नातिनातिनी भइसकेका व्यक्तिले यस्तो घटना गर्छन् भन्ने कल्पनासमेत गरिएको थिएन,’ स्थानीय स्रोतले भन्यो, ‘अझ बेपत्ता बालिकाको खोजीका लागिसमेत उनैले अघिअघि हिंडेका थिए ।’

शव फेला परेपछि भने उनी भारत गएका थिए । प्रहरीले निरन्तरको सम्पर्कपछि उनी नेपाल आएको अवस्थामा पक्राउ गरेको बताइएको छ । अधिकारीलाई नेपाल ल्याउन प्रहरीले धेरै प्रयास गरेको बताइएको छ । ‘प्रहरीले तपाईं छिमेकी हो तपाईंले आएर हत्यारालाई खोज्न सहयोग गर्नुपर्यो भनेर फकाएपछि मात्रै अधिकारी नेपाल आएका हुन्,’ स्थानीय स्रोतले भन्यो, ‘नआएको भए प्रहरी नै भारत जाने तयारी गरेको थियो ।’

हत्यारा पक्राउ नपरेका कारण परिवारले बालिकाको शवसमेत अझै बुझेको छैन । अंशुको शव फेला परेको आज आइतबार ४५ दिन र घरबाट बेपत्ता भएको ६२ दिन भएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवाल, डीएसपी कोपिला चुडालसमेत पटकपटक घटनास्थल पुगेर बालिकाको हत्या अनुसन्धानमा खटिएका थिए । मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्व लामो समय लेटाङमै बसेर प्रहरीले अनसुन्धान गरेको थियो । त्यस्तै प्रदेश प्रहरी कार्यालयका डिएसी दुर्गा दाहालको नेतृत्वमा समेत अनुसन्धान टोली खटिएको थियो । त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) डिएसपीको नेतृत्वमा ब्यूरोको टोली नै आएर अनुसन्धान गरेको थियो ।

बालिकाको हत्यामा संलग्न पक्राउ परेको विषयमा मोरङ प्रहरीले समेत पुष्टि गरेको छ । अभियुक्तलाई आज प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।