
विराटनगर । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार सम्पन्न पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको हो।

सिङ्गापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेटको क्षतिमा सहजै पूरा गर्यो। नेपालको जितमा प्रसिद्ध जैशीले सर्वाधिक ५५ रन बनाउँदै महत्वपूर्ण योगदान दिए। त्यस्तै, रौनक श्रीवास्तवले ४० रनको मद्दत गरे। सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १३८ रनमै अलआउट भएको थियो। सिङ्गापुरका लागि रिआन नैकले ५३ रन बनाए। नेपालको तर्फबाट कप्तान विपिनप्रसाद शर्माले ४ विकेट र सचिन भट्टले ३ विकेट लिँदै सिङ्गापुरलाई ठूलो स्कोर बनाउनबाट रोक्न सफल भए।
यस पटकको प्रतियोगितामा १० देश सहभागी छन्। नेपाल समूह ‘ए’ मा रहेको छ जहाँ सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। समूह ‘बी’ मा आयोजक मलेशियासँगै हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
नेपालले अब आफ्नो दोस्रो खेल पर्सि मंगलबार जापानसँग खेल्नेछ। तेस्रो खेल असार १५ गते इन्डोनेसिया तथा समूह चरणको अन्तिम खेल असार १७ गते भूटानसँग हुनेछ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असार २१ गते हुनेछ।