लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ३ जना पक्राउ

विराटनगर। झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ स्थित भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्दा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

सवारीसाधनको सिटमुनि लुकाइ ल्याइरहेको उक्त लागू औषध फेला परेपछि प्रहरीले कार चालक काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङकी २२ वर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे नगरपालिका–१० का ३० वर्षीय वरुण लिम्बुलाई ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र नगद १५ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।