माईखोलामा जलसतह सतर्कता तहभन्दा माथि, तटीय बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर। निरन्तरको वर्षापछि इलामको माईखोलामा जलसतह उच्च भएको छ। जिल्ला स्थित माईखोलाको चिसापानी जलमापन केन्द्रमा सोमबार बिहान ७ः२५ बजे गरिएको मापनमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् डा. धरमराज उप्रेतीका अनुसार हाल जलसतह बढ्दो क्रममा रहेकाले माईखोला तटीय क्षेत्र आसपासका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। डुबान भइरहने होचा भूभागहरूमा अझै उच्च सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

यता देशका विभिन्न प्रदेशहरूमा समेत वर्षा कायमै रहेको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा आइतबार रातिदेखि हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र थोरै स्थानमा भारी वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वर्षा गराउने बादल दक्षिणतर्फ सर्ने क्रममा रहेकाले केही समय अझै देशका विभिन्न भेगमा वर्षा जारी रहने अनुमान गरिएको छ। त्यसैले नदी तटीय क्षेत्र र पहाडी भेगमा बाढी तथा पहिरोको जोखिम बढेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।