नुवाकोटमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते

विराटनगर । नुवाकोटको विदुर नगरपालिका क्षेत्र अन्तर्गत पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

बिदुरबाट वट्टारतर्फ जाँदै गरेको बा.प्र. ०२–०३३प ९८०१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा.६प ५८२९ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा परि तीन जना युवक घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ। घाइतेहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

दुर्घटनामा दुबै मोटरसाइकलको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको नुवाकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) विक्रम लामाले जानकारी दिएका छन्।