अध्यक्ष ओलीले आयोगमा बयान दिनुपर्छ : ईश्वर पाेखरेल

काठमाण्डाै ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताउनुभएको छ ।

हिजो काठमाण्डौमा पत्रकारसँग अन्तरक्रिया गर्दै पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोगसमक्ष बयान दिनुपर्ने बताउनुभएको हो । पार्टीको तर्फबाट कतिपय मतभिन्नता भए पनि सरकारले बनाएको आयोगलाई अवज्ञा गर्नाले राम्रो सन्देश नजाउने उहाँको भनाइ छ ।

आयोगका विषयमा प्रश्न उठ्नु जायज भए पनि बयान दिन जाने कुरालाई अन्यथा लिन नहुने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । अध्यक्ष ओलीले बयान नदिने बताउँदै आउनुभएको र आयोगले पक्राउ गरेर बयान लिने तयारी गरेको खबरहरू सार्वजनिक भइरहेका बेला एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो भनाइ आएको हो ।

पोखरेल एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्दै हुनुहन्छ । उहाँले आफूले झोँकमा नभइ सोचविचार गरेर अनि पार्टीमा जानकारी गराएर उम्मेदवारी दिन लागेको बताउनुभयो ।

नेतृत्व हस्तान्तरण आवश्यक रहेको भन्दै पोखरेलले ओलीले आफू हटेर अरूलाई अध्यक्ष तोकेमा पनि आफ्नो विमति नरहने बताउनुभयो ।

यसैबीच एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि २ हजार ४ सय ६३ जना प्रनिनिधिको टुङ्गो लागिसकेको जनाएको छ ।