अमेरिका । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि गएको जनवरीयता ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै आएको बताएको छ ।
घोषणाको साथमा विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर ‘अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस्’ भन्ने शब्दहरूसहित राखेको छ । यसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रविन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसामध्ये आठ हजारभन्दा धेरै विद्यार्थीहरूको रहेको खुलासा गर्नुभएको छ ।
असुरक्षित रूपमा गाडी चलाउनु, चोरी र आक्रमणजस्ता अपराधका कारणहरू पहिचान गरि गएको वर्ष धेरैजसो भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै अमेरिकी मिडिया कम्पनी सीएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरूको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ । प्रशासनले ‘एच–वान–बी’ भिसा आवेदकहरूको जाँच पनि बढाएको छ । यो भिसा विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो ।