विद्युत चुहावटले मुगुमा १० खच्चरको ज्यान गयो

विराटनगर । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा नेपाल विद्युत् प्राधिकरणको ट्रान्समिटरबाट करेन्ट चुहिँदा दशवटा खच्चर मरेका छन्।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई आइतबार दिउँसो ट्रान्समिटरबाट जमिनतर्फ बगेको विद्युत प्रवाहले करेन्ट लागेको हो।

पीडित खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लका अनुसार ट्रान्समिटरको अर्थिङ कमजोर हुँदा सडक छेउमा रहेको ट्रान्समिटरबाट बगेको करेन्टले यस्तो दुर्घटना भएको हो। “पानी परिरहेको बेला थाहा नै नपाई एक्कासी १० खच्चर करेन्ट लागेर मरे। म आफैँलाई पनि करेन्ट लागेको थियो। चप्पल लगाएको हुँदा सामान्य झट्का मात्रै लाग्यो, म बाँचें,” उनले बताए।

उनले मरेका खच्चरको क्षतिपूर्ति दिन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्। “एक खच्चरको मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्छ,” उनले दुखेसो पोखे।

दुर्घटनामा छायानाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका छन्।

केही दिनअघि मात्रै वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी पनि करेन्ट लागेर मरेको थियो।

विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रले सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा स्थानीयलाई सास्ती हुन थालेको जग्गी बढुवालले बताए।

केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित भएको जानकारी दिए। “घटनाबारे प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गरेर नियमानुसार क्षतिपूर्ति दिलाउने प्रयास गर्छौं,” उनले भने।