ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानून विपरीत : अर्थ मन्त्रालय

काठमाण्डाै । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानून विपरीत भएको स्पष्ट पारेको छ । प्रदेश र पालिकालाई स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।

संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानून विपरीत भएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

केही पालिकाले आफ्नो क्षेत्रको बाटो हुँदै ढुवानी हुने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन् । यस्तो कर असुलीले किसान र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ ।

यो विषयमा अस्ति निर्णय गरेर सबै प्रदेश सरकार र पालिकालाई जानकारी गराउन पत्राचार भइसकेको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिनुभयो ।