नवयुवासँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन

काठमाण्डाै । सरकारले नवयुवासँग अस्ति भएको सम्झौतालाई अनुमोदन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरि राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको पनि खरेलले बताउनुभयो । मन्त्रिपषिद्को बैठकपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

अस्ति प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको थियो ।

बैठकले गएकाे भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिन जाने विषयमा दिएको अभिव्यक्ति सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार गरिएको र आयोगले आफ्नो काम कानून बमोजिम गर्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो ।

हिजोको बैठकमा भदौ २३ र २४ गते नवयुवा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक सम्पत्ति र भौतिक क्षतिको पुनर्मूल्याङ्कन तथा पुनर्निर्माण गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरिएको थियो ।