म्यानमारको सैन्य सरकारले अस्पतालमा गरेको हवाई आक्रमणमा ३० जनाको ज्यान गयो

 म्यानमार ।  पश्चिमी म्यानमारको एक प्रमुख अस्पतालमा देशको सैन्य सरकारले गरेको हवाई आक्रमणमा बिरामीसहित कम्तीमा ३० जनाको ज्यान गएको छ । आक्रमणमा झन्डै ७० जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।

पश्चिमी राखाइन राज्यको म्रौक यू टाउनशिपमा रहेको अस्पतालमा बुधवार राति सैन्य विमानबाट बम खसालिएको थियो । आक्रमणबाट म्रौक यू जनरल अस्पताल पूर्णरूपमा ध्वस्त भएको अराकान सेनाका प्रवक्ताले बताएका छन् । अराकान सेना तटीय राज्यका केही भागहरूमा सत्तारूढ सरकारसँग लडिरहेको छ ।

नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई अपदस्थ गर्ने सन् २०२१ को ‘कू’ विरुद्धको प्रदर्शनलाई सेनाले दबाएपछि म्यानमार द्वन्द्वमा फसेको छ ।

अहिले चलिरहेको लडाइँका कारण राखाइन राज्यका विभिन्न भागहरूमा धेरैजसो स्वास्थ्य सेवाहरू निलम्बित गरिएको खबरमा उल्लेख छ ।

म्यानमारको वायुसेनाले विद्रोही नियन्त्रित क्षेत्रहरूभित्रका लक्ष्यहरूमाथि प्रहार गर्न हवाई आक्रमणहरू बढ्दो रूपमा प्रयोग गरिरहेको छ ।