
विराटनगर । सुर्खेतबाट पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका नवराज बोहोराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी र सुशासन स्थापनाको अभियानमा रहेका बोहोराले सोमबार बिहान प्रचण्डसँग भेट गरेका हुन्।
सो अवसरमा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको नीति र उद्देश्यसँग मेल खाने बताएका थिए। साथै उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा कर्णाली क्षेत्रको समृद्धिका लागि थालिएका प्रयासहरूको स्मरण गर्दै बोहोराको अभियान सकारात्मक रहेको बताए।
प्रचण्डले बोहोरालाई अभियान निरन्तर अघि बढाउन शुभकामना दिँदै आवश्यक सहयोग रहने आश्वासनसमेत दिएका छन्।
प्रचण्डको सचिवालयका अनुसार बोहोराको सुशासन र समृद्धिको आवाजलाई पार्टीले समर्थन गर्ने र यस्ता सकारात्मक पहललाई सधैँ प्रोत्साहन गरिने स्पष्ट पारिएको छ।