विराटनगर
विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न गरेको छ। काठमाण्डौको ‘कोड हिमालय’ सँगको सहकार्यमा सम्पन्न वर्कसपमा ७ सयभन्दा बढी विद्यार्थी सहभागी थिए।वर्कसपअन्तर्गत विज्ञान संकायका विद्यार्थीहरूले भावना पहिचान गर्न सक्ने रोबोट, एआई भ्वाइस असिस्टेन्ट, अब्स्ट्याकल एभोइडिङ रोबोट र स्मार्ट ग्रिटिङ रोबोटजस्ता नवीन प्रविधि प्रदर्शन गरे। यस्तै, फेस रिकग्निसन अटेन्डेन्स प्रणाली र विभिन्न उपयोगी मोबाइल एपहरू पनि प्रस्तुत गरिएका थिए।व्यवस्थापन संकायका विद्यार्थीहरूले डिजिटल मार्केटिङ र स्टार्टअप केन्द्रित व्यावसायिक अवधारणाहरू प्रस्तुत गर्दै कृषि, फोहोर व्यवस्थापन, यातायात, शिक्षा र बजार व्यवस्थापनसम्बन्धी नवीन बिजनेस मोडेलहरू सार्वजनिक गरेका थिए।
समापन कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीप कलेज आईटी र व्यवस्थापन क्षेत्रमा पनि उत्कृष्ट बन्दै गएको उल्लेख गर्दै समयअनुसार विद्यार्थीलाई दक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे।