काठमाण्डौ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुँदैछ । मतदानका लागि आवश्यक तयारी पूरा भएको छ ।
महाधिवेशन प्रतिनिधिहरू लाइन लाग्नेक्रम शुरू भैसकेको छ । आज बिहानैदेखि महाधिवेशन स्थल काठमाण्डौको भृकुटीमण्डपमा चहलपहल बढेको छ । मतदान प्रक्रिया शुरू हुन लागेकाले नेता तथा कार्यकर्ताको उपस्थिति बढेको हो । महाधिवेशनको आज पाँचौँ दिन हो । नयाँ नेतृत्व चयन गर्न मतदानमा ढिलाइ भएका कारण महाधिवेशन एक दिन लम्बिएको हो ।
हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान विद्युतीय मेसिनमा प्राविधिक समस्या आएको भन्दै आज बिहान शुरू गर्नेगरी स्थगित गरिएको थियो । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताउनुभयो ।
उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । पदाधिकारी र केन्द्रीय कमिटीसहित तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि ६ सय भन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ११ जना निर्विरोध भएका छन् ।
महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै पक्षका समर्थक आफ्नो प्यानललाई जिताउन लागिपरेका छन् ।
मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारको लामो सूचीका कारण एक जनाले मत खसाल्न आधा घण्टा भन्दा धेरै समय लाग्ने अनुमान छ । मतदान सकिएलगत्तै मतगणना शुरू हुनेछ । एमालेको ११औँ महाधिवेशन गएको शनिवार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।