एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो ।

काठमाण्डौको भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधि लाइनमा छन् । यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि मत खसाल्नेछन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै पक्षका समर्थक आफ्नो प्यानललाई जिताउन लागिपरेका छन् । मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ ।

मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारको लामो सूचीका कारण एक जनाले मत खसाल्न आधा घण्टा भन्दा धेरै समय लाग्ने अनुमान छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुनेछ ।