
विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुकुर संरक्षणमा सक्रिय अभियन्ता दाजु–बहिनीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। सामुदायिक कुकुर संरक्षणमा सन् २०१९ देखि सक्रिय शाहिल र एलिना प्रसाईंमाथि मेयर कोइरालाले दुर्व्यवहार र अपमानजनक व्यवहार गरेको उनीहरुको दाबी छ।

सोमबार महानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि पुगेकी एलिना प्रसाईंले मेयरबाट रुखो व्यवहार खेप्नुपरेको बताइन्। कुकुर संरक्षणका लागि सञ्चालन भइरहेको सेल्टरसँग सम्बन्धित समस्या राख्दा मेयर कोइरालाले कुनै सहयोग नहुने स्पष्ट पार्दै आफूलाई गालीगलौज र कुटपिट गर्न खोजेको आरोप एलिनाको छ।
“दाइले यहाँबाट जाऔँ भनेपछि मेयर कोइरालाले ‘तँ सन्किन्छस् साला गधा प्रसाईँ’ भन्दै दोस्रो तलासम्म खेद्दै आउनुभयो,” एलिनाले भनिन्। “म जागिर माग्न होइन, कुकुर संरक्षणको कामका लागि सहयोग माग्न गएकी थिएँ। तर उहाँबाट यस्तो व्यवहार पाइयो।”
एलिनाले घटना भएपछि आफ्नो फेसबुक पेजमार्फत लाइभ गर्दै घटनाबारे विस्तृत जानकारी दिएकी थिइन्। भावुक हुँदै उनले सडकमा छाडिएका बिचरा जनावरहरूलाई बचाउन आफू र दाजुले निजी खर्च र सहयोगमार्फत काम गर्दै आएको र यसरी अपमान खेप्नु परेको बताइन्।
उता, घटनाका प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार मेयर कोइरालाले महानगरसँग संस्थालाई सहयोग गर्ने परिस्थिति नभएको जानकारी गराएपछि साहिल प्रसाईं जंगिएका थिए। त्यस क्रममा साहिलले मेयरप्रति अपशब्द बोलेको र त्यसपछि कोइरालाले पनि प्रतिक्रिया जनाएका थिए।
साहिलले भने आफूमाथि अन्यायपूर्ण व्यवहार भएको र ज्यान मार्ने शैलीमा हातपात प्रयास भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् मेयर कोइरालाले आफू र बहिनीलाई गालीगलौज गर्दै खेदेको र यदि आफूहरुलाई केही भए त्यसको जिम्मेवार मेयर हुने बताएका छन्।
मेयर कोइरालाले भने आफूले कसैलाई दुर्व्यवहार नगरेको दाबी गरेका छन्। “माथि अपशब्द प्रयोग भएपछि मात्रै मैले प्रतिक्रिया जनाएको हुँ,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्।
एलिना र शाहिल प्रसाईंले निजी खर्च र विभिन्न मनकारी व्यक्तिको सहयोगमा कुकुर संरक्षणका लागि सेल्टर सञ्चालन गर्दै आएका छन्। उनीहरूले यसअघि पनि महानगरलाई सेल्टर निर्माणका लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका थिए तर महानगरबाट कुनै सहयोग नपाएको उनीहरूको भनाइ छ।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मेयर कोइरालाको आलोचना भइरहेको छ। पशु अधिकारकर्मीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।