विराटनगर
विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेर २० जना नेपालीलाई पक्राउ गरेको छ। राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा मारेको हो।
प्रहरीका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि नेपालीहरू जुवाजन्य खेल खेलिरहेको सूचनाका आधारमा छापा मारिएको हो। पक्राउ परेकामाथि हाल ‘स्क्रिनिङ’ तथा थप अनुसन्धान भइरहेको र प्रक्रिया पूरा भएपछि मात्र मुद्दा दर्ताबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ।
कानुनले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरे पनि विराटनगरका क्यासिनोमा लामो समयदेखि खुलेआम नेपालीले जुवा खेल्दै आएको गुनासो थियो।