तराईको धेरैजसो ठाँउमा बाक्लो हुस्सु

काठमाण्डौ । तराईका धेरैजसो ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि नागरीकको दैनिकी नै प्रभावित बनेको हो ।

विशेषगरी बालबालिका, ज्येष्ठनागरीक र विपन्न वर्ग प्रभावित भएका छन् । दैनिक जनजीवन, स्वास्थ्य, सडक र बिहानको समयमा हवाई उडान समेतमा प्रभाव परिरहेको मौसमविद् हरि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन । त्यस्तै हुस्सु र कुहिरो पनि बिस्तारै केही दिनमा कम हुँदै जाने सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि बिहान हल्का कुहिरो लागेको छ ।

यसैबीच, तराईका जिल्लामा चिसोका कारण विद्यालय बन्द हुने क्रम बढेको छ । केही दिन देखि लगातार बढेको चिसोका कारण पर्साको वीरगञ्ज महानगरपालिकाले हिजोदेखि ५ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

रौतहटको गौर नगरपालिकाले पनि गौर नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा शुक्रबारसम्मका लागि बिदा दिएको छ । बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको सम्बन्धित पालिकाले जनाएको छ ।

यस्तै माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ मा रहेको ठिंगर खोला चिसोले बरफ बनेको छ । हिउँदयामको अत्यधिक चिसोका कारण यस गाउँपालिकाका नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।