ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ दर्वेशा क्षेत्रमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।

असार १० गते दिउँसो खेत जोतेर सडकमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को.३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रंगेली–१ निवासी ३२ वर्षीय केदार न्यौपानेलाई उपचारका लागि तत्कालै रंगेली अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे।

त्यसै मोटरसाइकलमा सवार ४१ वर्षीय राजन भट्टराई घाइते अवस्थामा छन् र हाल नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना गराउने ट्याक्टर र चालक रंगेली–८ निवासी ३० वर्षीय जिवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।