धरानमा प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका–५ देउरालीबाट ठूलो मात्रामा प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक युवक पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा असार १० गते राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ स्थित झर्नाचोकमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा जेब्रा झोलामा लुकाइ छिपाइ राखिएको ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

बरामद गरिएको औषधी प्रतिबन्धित र नियन्त्रित सूचीमा पर्ने भएकाले राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी  दिएको छ।