विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् ।
बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टाेलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो ।
सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।
श्रीमतीलाई आगो लगाउने मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।