बालेनलाई रास्वपाको प्रस्ताव- प्रधानमन्त्री र रविपछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई एक बनाएर लैजान आज पनि दुवै पक्ष छलफलमा जुट्ने भएका छन्।

रास्वपाका एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार बिहीबार ज्वागलमा भएको रवि-बालेन भेट सकारात्मक र निष्कर्षउन्मुख छ।

‘हिजोको भेटले एउटा सुखद वातावरण तय गरेको छ, आज दिउँसो १ बजेपछि पनि दुवैतर्फबाट दुई-दुई जना गरी चार जना छलफलमा बस्छौं, सहमतिका केही प्रस्ताव तयार पारिएको छ,’ ती नेताले भने, ‘त्यसमा हामी छलफल गरेर साझा निष्कर्षमा पुग्छौं। र, दुवै नेताहरू (रवि र बालेन) लाई राखेर छलफल गर्छौं।’

रास्वपाका ती नेताका अनुसार रास्वपाले बालेनलाई चुनावपछि सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नेछ। र, पार्टी एकीकरण गरेर जाने हो भने रविपछिको वरीयता दिन रास्वपा तयार छ।

‘संक्रमणकालीन सरकारको नेतृत्व गर्न बालेनजीलाई दिन हामी तयार छौं, पार्टीको नेतृत्व भने रविजीले नै गर्नुहुनेछ,’ ती नेताले भने, ‘यो रास्वपाको तर्फबाट प्रस्ताव हो, उताबाट के प्रस्ताव आउँछ, छलफलमै थाहा हुन्छ।’

रास्वपाले एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी नै राख्न प्रस्ताव गरेको छ।

उनका अनुसार वार्ता समितिमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल छन्। वाग्ले नेतृत्वमा रास्वपामा राजनीतिक संवाद समिति छ। उक्त समितिमा डा. तोसिमा कार्की पनि सदस्य छिन् तर यस वार्तामा भने तोसिमा सहभागी छैनन्।

मेयर बालेन शाहका तर्फबाट उनकै सचिवालयमा रहेका कुमार बेन र भूपदेव शाह वार्ता समितिमा छन्। बालेननिकट दलको नाम देश विकास पार्टी हो भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै बालेन २०७९ को स्थानीय चुनावमा काठमाडौंको मेयर निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचनपछि उक्त चुनाव चिह्न राखेर हाम्रो नेपाली पार्टी दर्ता थियो। उक्त पार्टीबाट बागमती प्रदेशमा २ जना सांसद पनि निर्वाचित भएका थिए। अहिले सन्ध्या खनाल अध्यक्ष रहने गरी लौरो चुनाव चिह्न राखेर देश विकास पार्टी आयोगमा अद्यावधिक गरिएको थियो।

बालेन समूहमा रहेका केही नेताहरू देश विकास पार्टीमा छन्।

आज सुरूमा वार्ता समितिमा रहेका दुवै दलका नेताहरूबीच कुराकानी हुनेछ। प्रस्तावित खाकाहरूमा सहमति भएमा रवि र बालेन पनि आजै छलफलमा जुट्नेछन्।

पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने कार्यतालिका छ। त्यसो हुँदा उनीहरूलाई समयको चाप पनि छ।

मेयर बालेन समूहले देश विकास पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता गरिसकेको छ भने पार्टी कार्यालय पनि आजबाट सञ्चालनमा आएको छ। उक्त पार्टीले प्रारम्भिक रूपमा समानुपातिक सूची पनि तय गरिसकेको छ।

रास्वपाले पनि समानुपातिक उम्मदेवार तय गर्न पार्टीभित्र प्रतिस्पर्धा गराइरहेको छ। रवि र बालेनबीच पार्टी एकतालगायत विषयमा सहमति जुटेमा समानुपातिक सूची मिलाएर एउटै बनाउनुपर्ने भएकोले पनि समयको चाप देखिएको नेताहरूले बताएका छन्।

यसबारे हामीले रास्वपा नेता शिशिर खनालसँग कुराकानी गरेका छौं। उनले बिहीबार सभापति रवि र मेयर बालेनबीचको भेट सकारात्मक रहेको र आज पनि छलफलको सम्भावना रहेको जानकारी दिए।

‘हिजोको भेट एकदम सकारात्मक छ, आज पनि हामी छलफलमा जुट्छौं,’ उनले भने।

मेयर बालेन शाह पक्ष स्रोतका अनुसार मन्त्री कुलमान घिसिङसँग भने यसअघि नै मिलेर जाने विषयमा सहमति भइसकेको छ।

बिहीबार बिहान ज्वागलस्थित कुमार बेनको घरमा मन्त्री कुलमान र मेयर शाहबीच कुराकानी भएको र एक भएर जाने समझदारी बनेको थियो।

त्यसपछि पनि मन्त्री घिसिङ भने त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टी कार्यालय उद्घाटन गर्न पुगेका थिए।

त्यहाँ उनले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जानुपर्ने कुरा गरेका थिए। अब रास्वपा र मेयर बालेन समूहबीच सहमति भएमा मन्त्री कुलमानको स्थान र उज्यालो नेपाल पार्टीबारे पनि थप छलफलको आवश्यकता रहने नेताहरू बताउँछन्।