विराटनगर । इटहरीमा छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या भएको छ ।
उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीमाया बयलकोटीलाई उनकै ज्वाइँ गणेश साह गुप्ताले टाउकोमा हिर्काएर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उपचारपछि सोमबार घर फर्कने तयारीमा रहेकी बयलकोटी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् ।
त्यहाँ छोरी–ज्वाइँबीच झगडा भएपछि सम्झाउन खोज्दा गुप्ताले उनीमाथि प्रहार गरेका थिए ।
हत्यामा संलग्न गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । छोरी र ज्वाइँका बीचमा दिनहुँ झगडा हुने गरेको र सासुले ज्वाइँलाई सम्झाउन खोज्दा सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।