
विराटनगर । भारतको अहमदाबादमा भएको भयावह विमान दुर्घटनाको अनुसन्धान अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार सुरु गरिएको छ। नागरिक उड्डयन मन्त्रालयले शिकागो कन्भेन्सन सम्झौताअनुसार विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआइबी) मार्फत एयर इन्डिया विमान (उडान नम्बर एआइ-१७१) दुर्घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको हो।

अनुसन्धान टोलीको नेतृत्व एएआइबीका महानिर्देशकले गरिरहेका छन्। टोलीमा एक उड्डयन चिकित्सा विशेषज्ञ, एक हवाई ट्राफिक नियन्त्रण अधिकारी, र अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का एक प्रतिनिधिसमेत समावेश छन्।
गएको जुन १२ मा लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको विमान गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो। २४२ यात्रु सवार उक्त विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ। दुर्घटनामा एक जना मात्र जीवितै उद्धार गरिएको थियो। जमिनमा रहेका केही स्थानीय बासिन्दा पनि घाइते भएका थिए भने कुल मृत्यु संख्या २७० पुगेको छ, जसले यस घटनालाई भारतको इतिहासमै एक दुखद विमान दुर्घटना बनाएको छ।
मन्त्रालयका अनुसार दुर्घटनास्थलबाट ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) दुवै सुरक्षित रूपमा बरामद गरिएको छ। भारतीय वायुसेनाको विशेष विमानमार्फत २४ जुनमा ब्ल्याक बक्सलाई दिल्लीस्थित एएआइबी प्रयोगशालामा ल्याइएको थियो।
हाल एएआइबी र एनटीएसबीका प्राविधिक सदस्यहरू मिलेर डाटा सुरक्षित रूपमा प्राप्त गरी विश्लेषण कार्य सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ। अनुसन्धानबाट दुर्घटनाको कारणबारे विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।