सुनसरीमा सशस्त्र प्रहरीले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

घटना बिहीबार बिहानकाे राति करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको सुनसरी प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए ।

साहले आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनलाई गोली प्रहार गरेको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ ।

साहको मृत्यु भएपछि आक्रोशित भिडले शव उठाउन दिएको छैन । डिएसपी खड्काले स्थानीयसँग वार्ता भइरहेको बताए ।