
विराटनगर । गुल्मीको मुसिकोट नगरपालिका–४, दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी हुनेहरूमा ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बिहीबार जंगलबाट टिपेर ल्याइएको च्याउ पकाएर खाएपछि तीनै जनामा राति नै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र वान्ता हुने लक्षण देखिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै उनीहरूलाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाएको थियो।
हाल तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दालाई वनजङ्गलबाट च्याउ टिप्दा सतर्कता अपनाउन तथा जानकारबिना सेवन नगर्न प्रहरीद्वारा अनुरोध गरिएको छ।