
विराटनगर। विराटनगर–१५ स्थित जोगवनी–विराटनगर सडक खण्डमा बुधबार राति गम्भीर सवारी दुर्घटना भएको छ। प्रदेश १–०२–०४० प ५९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा हिँडिरहेको गाईसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोरङको विराटनगर–२ निवासी अरविन्द राठी गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै इलाका प्रहरी कार्यालय रानीको टोलीले उद्धार गरी कोशी अस्पताल, विराटनगरमा उपचारका लागि पुर्याएको छ। राठीको परिचय उनीसँग फेला परेको भन्सार प्रज्ञापन पत्रको आधारमा खुलेको हो।
ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भएको थियो। रातको समयमा पोस्टमार्टम सम्भव नभएकाले गाईको शवलाई बिहीबार दिउँसो १ बजेसम्म इलाका प्रहरी कार्यालय रानीले सुरक्षा दिँदै सुरक्षित राखेको थियो।
बिहीबार बिहान विराटनगर महानगरपालिका पशु पन्छी शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विशेषज्ञ टोलीले गाईको पोस्टमार्टम गरेका थिए। डा. सञ्जय ढुङ्गानाको नेतृत्वमा गरिएको पोस्टमार्टमपछि गाईको शव विधिपूर्वक खाल्डो खनी गाडिएको प्रहरी स्रोतले जनाएको छ।
सडकमा छाडा चौपायाका कारण बारम्बार हुने दुर्घटनाले स्थानीय बासिन्दाहरूमा आक्रोश फैलिएको छ। उनीहरूले यस्ता पशु व्यवस्थापनमा स्थानीय प्रशासन र सरोकारवाला निकायको लापरवाही रहेको गुनासो गर्दै आएका छन्।
सडक सुरक्षाको सन्दर्भमा संरचना मात्र होइन, सडकमा हिँड्ने चौपाया पनि गम्भीर चुनौती बन्दै आएको छ। चौपायाको नियन्त्रण र व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता स्थानीयहरू तथा ट्राफिक प्रहरी दुवैको जोड छ।