विराटनगर । सशस्त्र प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएपछि तनावग्रस्त बनेको सुनसरीको कोशी गाउँपालिकामा स्थिति सामान्य बनाउन पाँच बुँदे सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा निकाय र पीडित पक्षबीचको वार्तामा विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सहमति जुटेको हो ।
सहमति अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। यस समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । छानबिनका क्रममा सुरक्षा अधिकारीको लापरवाही देखिएमा उचित राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने उल्लेख छ ।
पीडित परिवारको जीविकोपार्जनका लागि मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल गर्ने र उनका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति समेत भएको छ ।
यस सहमतिसँगै पीडित पक्षले शवलाई पोष्टमार्टमका लागि हस्तान्तरण गर्न र दाहसंस्कार गर्न मञ्जुरी जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार सहमतिपछि अहिले स्थानीय अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको छ ।