विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दर्ता भएका उम्मेदवारका लागि आज (सोमबार) निर्णायक दिन हो ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार राजनीतिक दलले बन्दसूचीमा समावेश गरेका उम्मेदवारले अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेका समानुपातिक तर्फका बन्दसूची उम्मेदवारहरूको नाम आयोगले स्वीकृत गरिसकेको छ ।
सोही स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारले आफ्नो नाम सूचीबाट हटाउन चाहेमा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । आयोगले यससम्बन्धी जानकारी सम्बन्धित उम्मेदवारलाई गराइसकेको जनाएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने प्रक्रिया सञ्चालन हुने छ । उम्मेदवार स्वयं उपस्थित भई वा कानुनबमोजिम वारेसमार्फत पनि निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
समानुपातिक बन्दसूचीमा समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ अनुसारको ढाँचामा निवेदन पेस गर्नुपर्ने हुन्छ । आयोगका अधिकारीहरूका अनुसार तोकिएको ढाँचाबाहेक अन्य स्वरूपमा आएका निवेदन मान्य नहुने भएकाले उम्मेदवार तथा दलहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
निर्वाचन प्रक्रियामा बन्दसूची फिर्ता महत्वपूर्ण चरणका रूपमा लिइन्छ । कतिपय अवस्थामा उम्मेदवारको व्यक्तिगत निर्णय, दलभित्रको आन्तरिक समायोजन, क्षेत्रीय सन्तुलन वा समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै नाम फिर्ता लिने अभ्यास हुँदै आएको छ ।
तोकिएको समयसीमापछि बन्दसूचीले अन्तिम रूप लिने भएकाले यसले दलहरूको समानुपातिक प्रतिनिधित्वको चित्र पनि लगभग निश्चित गर्नेछ । नेपालको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेको छ । जसमध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
समानुपातिक प्रणालीमार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम तथा अन्य पछाडि परेका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । समानुपातिक तर्फको उम्मेदवारी फिर्ता प्रक्रिया सोमबारबाट बन्द हुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । त्यसपछि आयोगले अन्तिम सूचीको तयारी गरी आगामी चरणका निर्वाचन गतिविधि अघि बढाउनेछ ।