कांग्रेसमा सहमतिको प्रयास कमजोर, नेतृत्व चयनको प्रक्रिया अघि बढ्नसक्ने

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास भए पनि अहिलेसम्म त्यसको सम्भावना क्षय हुँदै गएको छ महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आह्वान गरेको विशेष महाधिवेशन भृकुटी मण्डपमा चलिरहँदा पार्टीलाई फुटबाट जोगाउन भन्दै सहमतिको प्रयास भइरहेको छ।

पार्टीमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच एउटै धारणा अगाडि बढ्ने कोशिस अस्तिदेखि नै भएपनि मंगलबार बिहानसम्मको छलफलका आधारमा सहमतिको आधार कमजोर हुँदै गएको नेताहरूले बताएका छन्।

सोमबार थापा र शर्माले पेश गरेको प्रतिवेदन माथि छलफल गर्न ९ वटा समूह बनाइएको थियो। समूहको छलफल चलिरहँदा दुवै तर्फका नेताहरू भने सहमतिको प्रयासका लागि जुटेका थिए।

सभापति शेरबहादुर देउवाले महाराजगंजस्थित आफ्नो निवासमा पार्टीका विभिन्न तह र पक्षका नेताहरुलाई बोलाएर दिनभर रातभर जसो छलफल गरेका छन्।

तर मंगलबार बिहानसम्म सहमति हुने सम्भावना कम देखिएको विशेष महाधिवेशन पक्षधरबाट छलफलमा बसेका एक नेताले जानकारी दिए। यदि मंगलबार दिउँसोसम्म दुवै पक्षबीच साझा धारणा बन्न नसकेमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरुले सहमतिका लागि अधिकतम लचक हुने तर सहमति नभएमा नीति र नेतृत्व चयन गरेर अगाडि बढ्ने बताएका छन्।

विशेष महाधिवेशन उद्घाटन सत्रमा महामन्त्री थापाले भेला नयाँ नेतृत्व र नीति चयन गर्न सक्षम रहेको भन्दै चेतावनी दिएका थिए।

उनीहरुले मंगलबार नेतृत्व चयनको कार्यविधि समेत महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेका छन्।