काठमाडौँ– नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टीका नेताहरूले जानकारी दिएका छन्।
आगामी निर्वाचनको तयारी र उम्मेदवार चयनका लागि बैठक बस्न लागेको नेताहरूको भनाइ छ।
आजको बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिनु रहेको बताइएको छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले आजै उम्मेदवारहरूको सूची फाइनल गर्ने तयारी गरेको छ।
उम्मेदवार छनोटका लागि पार्टीका तल्लो तहका कमिटीहरूले यसअघि नै गृहकार्य गरिसकेका छन्।
निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका नामहरूमाथि छलफल गरी सचिवालयले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ।