प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर अस्ति जनकपुर पुगेका नेता शाहले हिजो आयोजित परिवर्तन उद्घोष सभामा प्रदेश संरचना बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

रास्वपालाई सङ्घीयताप्रतिको धारणा के हो भनेर काठमाण्डाैमा सोधिने गरेको भन्दै उहाँले  वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाण्डाै जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताउनुभयो ।

शाहले भन्नुभयो, ‘काठमाण्डाै अधिकार माग्न हैन, पशुपति र स्वयम्भूनाथ घुम्न जाने हो ।’

रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन झापा–५ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहितका नेताहरूको उपस्थितिमा रास्वपाले मधेश केन्द्रित सभा आयोजना गरेको हो ।

सभामा आक्रामक भाषण गरेका रास्वपा नेता अमरेशकुमार सिंहले मधेशीले प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्नुभयो । यसअघि स्वतन्त्र सांसद रहेका सिंह आजै रास्वपा प्रवेश गर्नुभएको हो ।