चुनाव गराउने जिम्मेवारी छाडेर आफैं उम्मेदवार भएका मन्त्री : झोंक कि राजनीतिक भोक ?

विराटनगर । फागुन २१ गते चुनाव गराउने मुख्य जिम्मेवारीका साथ गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद् अहिले ११ सदस्यमा सीमित भएको छ । गैरदलीय अर्थात् नागरिक सरकारका मन्त्रीहरुले कुनै दलमा सक्रिय नहुने र चुनावमासमेत नउठ्ने प्रतिवद्धता प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका थिए । तर चुनाव गराउने मुख्य जिम्मेवारी छाडेर गैरदलीय सरकारका चार मन्त्री आफैं चुनावमा होमिएपछि उनीहरुको आलोचना भइरहेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल लगायतसँग समन्वय गरेर चुनावी तयारीमा व्यस्त हुनुपर्ने बेला प्रधानमन्त्रीको काँधमा शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ताले सम्हाल्दै आएको जिम्मेबारी समेत थपिएको छ । यसअघि नै राजीनामा दिएका कुलमान घिसिङको जिम्मेवारी चाहिँ बाँकी अरू मन्त्रीहरुले बाँडेका छन् ।

चुनावमा उठ्नकै लागि घिसिङले पुस २३ गते राजीनामा दिंदा गुप्ताबाहेक अरू मन्त्रीले राजनीतिबारे खासै चासो देखाएका थिएनन् । महाविर पुनले त आफू कहिल्यै राजनीति गर्दिनँ भन्नुहुन्थ्यो । खरेलले रास्वपाबाट ललितपुर २ मा मनोनयन दर्ता गर्नु अघिल्लो दिनसम्म आफू कुनै पार्टी जाने कुरा सत्य नभएको बताउनुभएको थियो । यस्तो दाबी गरेको भोलिपल्ट बिहान खरेलले फेसबुकमा ‘अर्को अध्याय’ भन्दै आफू राजनीतिमा आएको घोषणा गर्नुभयो । उहाँको फेसबुकमा धेरैले बधाई र शुभकामनासँगै अवसरवादी र भगौडा भनेर आलोचना गरेका छन् ।

म्याग्दीबाट मनोनयन दर्ता गर्ने बेलामा महावीर पुनले आफूलाई झोंक चलेर रातारात उम्मेदवारी दिन आएको प्रतिक्रिया दिनुभयो । युवाहरुले केही ढङ्ग ल्याउलान्, रामो गर्छन् कि भनेको युवाहरुको पनि ढङ्ग देखिएन, त्यसैले आफू उम्मेदवार बन्नु परेको उहाँको तर्क छ । उहाँको फेसबुकमा उम्मेदवारी दर्ता गरेको फोटो देखेपछि कतिपयले लेखेका छन्, ‘सत्ताको भोक कस्तो हुँदो रहेछ भन्ने कुरा उहाँलाई हेरेर थाहा भयो ।’

महाविर पुनले स्वतन्त्र उम्मेदवारी दिँदा बब्लु गुप्ता पनि रास्वपामा प्रवेश गर्दै सिरहा १ बाट उम्मेदवार बन्नुभयो । कुलमान घिसिङले चाहिँ रास्वपासँगको एकता भाँडिएपछि आफ्नै उज्यालो नेपाल पार्टीमा फर्किएर काठमाण्डौ–३ बाट उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारी दर्ताअघि बब्लु गुप्ताले आफ्नो फेसबुक पेजमा राजीनामा पत्र राख्नुभएको थियो । त्यसमा पनि धेरैले प्रश्न उठाएका छन् । आफूलाई नवयुवाको प्रतिनिधि बताउने महेश मिश्रले लेख्नुभएको छ, ‘नागरिक सरकारको आवरणमा मन्त्री बनेका व्यक्तिहरुले नागरिकको नाममा सत्ता उपयोग गरे, तर आज चुनावको मुखमा आफूले सम्हालेको जिम्मेवारी छाडेर उम्मेदवार बन्न दौडनु अनैतिक मात्रै होइन, नवयुवा आन्दोलनमाथिको ठाडो अपमान हो ।’ उहाँको प्रश्न छ, ‘मन्त्री छोडेर उम्मेदवार बन्नु नागरिकप्रतिको इमान्दारिता हो कि स्वार्थ ?’

चुनाव गराउने मुख्य जिम्मेवारी छोडेर आफैं चुनावमा उठ्ने चारजना निवर्तमान मन्त्रीहरुमाथि यस्तै प्रश्न उठेको छ । रङ्गकर्मी केदार श्रेष्ठ लेख्नुहुन्छ, ‘विश्वास गुम्नु दुःखद हुँदो रहेछ । यो त अन्तरिम सरकार र जेजनी आन्दोलनमाथि सरासर धोका हो । जिन्दगीमा एक थान मन्त्री हुने धोको पूरा गर्न मात्र मन्त्री भएका रहेछन् । यो धुत्र्याईं पनि हो, चुनाव गराउन गठित दलबाट स्वतन्त्र सरकारमा जाने अनि आफैं उम्मेदवार बन्ने । परिवर्तनका लागि उम्मेदवारी भन्लान्, तर न्यूनतम इमान्दारिता पनि वहन नगर्नेसँग अब फिटिक्क विश्वास पनि छैन ।’