मार्टस मेमोरियल स्कुलद्वारा आयोजित भजन प्रतियोगितामा पारिजातलाई उपाधि

विराटनगर । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलद्वारा सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको अन्तर–भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा प्रतिस्पर्धी भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै, निर्मल टोल भजन समूह तृतीय बन्दा नगद १० हजार रुपैयाँ, र शान्ति भजन मण्डलीले सान्त्वना पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको संयोजकत्वमा गठन गरिएको निर्णायक समितिमा झापाका भजन संगीतकार विनोद खतिवडा र दिनेश खरेल सहभागी थिए । निर्णायक समितिले शब्द चयन, स्वर, ताल, लय, भाव, हाउभाउ, प्रस्तुति, भेषभूषा र समयपालनलगायतका आधारमा मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको संयोजक नवोदितले जानकारी दिए ।
प्रतियोगितामा सहभागी सबै भजन समूहलाई प्रोत्साहनस्वरूप नगद १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
विद्यालयका प्राचार्य विजय डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि थिए । कार्यक्रममा मार्टस मेमोरियल स्कुलका संस्थापक सीएम श्रेष्ठ, निर्णायक मीनकुमार नवोदित, विद्यालयका कोअर्डिनेटर नारायण स्वर्णकार, नीता अधिकारी, दिनेश ढकाल, समाजसेवी खेम तिम्सिना, वीरेन्द्र थापालगायतले विजेता समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले मार्टस मेमोरियल स्कुलले भजन–कीर्तन प्रतियोगिता आयोजना गरेर धार्मिक तथा सांस्कृतिक चेतना विस्तारमा उल्लेखनीय योगदान पु¥याएको बताए । उनले स्थानीय तहले भजन समूहलाई वाद्यवादन सामग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको जानकारी दिँदै यस्ता गतिविधिले समाजमा सकारात्मक ऊर्जा फैलाउने धारणा राखे ।
विद्यालयका सञ्चालक सीएम श्रेष्ठले सनातन धर्मप्रति बालबालिकाको आस्था जागृत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी वर्ष भजन प्रतियोगितालाई अझै वृहत्तर र व्यवस्थित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्याब्सन विराटनगरका पूर्वअध्यक्ष इन्द्र राईले यस्ता धार्मिक–सांस्कृतिक प्रतियोगिताले बालबालिकामा आध्यात्मिक चेतना विकास गर्दै सत्मार्गतर्फ प्रेरित गर्ने उल्लेख गरे । निर्णायक नवोदितले पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको सन्दर्भमा नेपाली भाषा, संस्कृति र मौलिक पहिचान जोगाउन यस्ता प्रतियोगिता अपरिहार्य भएको बताए ।
प्राचार्य डागीले प्रतियोगिता अपेक्षाभन्दा भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न भएको जनाउँदै अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्य प्रशंसनीय रहेको बताए ।
यसैबीच, विद्यालयका संस्थापक श्रेष्ठले प्ले ग्रुपमा मात्र ८७ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिँदै शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासबाट आगामी दुई–तीन वर्षभित्र मार्टस मेमोरियल स्कुललाई विराटनगरकै नमुना विद्यालय बनाउने दाबी गरे ।