राष्ट्रियसभा सदस्यका लागि विराटनगरमा मतदान सुरु

विराटनगर । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज (आइतबार) देशभर मतदान सुरु भएको छ । कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा रहेको मतदान केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा एकैसाथ मतदान हुने छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा अन्य समूहअन्तर्गतको १ पदमा भने निर्वाचन हुनुपर्ने अवस्था आएन । नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी १७ पदका लागि मतदात हुने छ । मधेश प्रदेशमा धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रलाई मतदानस्थल बनाइएको छ । बागमती प्रदेशमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ । गण्डकी प्रदेशका मतदातालाई कास्कीको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेशमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ भने कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने छ । सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र तय गरिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ । यी मतदाताले गोप्य मतदान प्रणालीमार्फत राष्ट्रियसभा सदस्य चयन गर्नेछन् । निर्वाचन आयोगले मतदान प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सुरक्षित बनाउन सबै प्रदेशमा आवश्यक सुरक्षा र व्यवस्थापनका काम पूरा भएको जनाएको छ ।