इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

इटहरी । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट शनिबार राति साइकल यात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ मा राति ९ बजेतिर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले पूर्वतर्फ नै आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकल यात्री धनकुटा घर भइ इटहरी–४ मा बस्दै आएका अन्दाजी ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका राईलाई प्रहरीको गाडीमा राखेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनलाई चिकिसत्कले राति ९ः४५ बजेतिर मृत घोषित गरेका हुन् ।

ट्रक र चालक बाराको कलैया–१६ का २९ वर्षीय उपेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनालगत्तै आक्रोशित बनेका स्थानीयले केहीबेर सडक अवरुद्ध बनेका थिए । प्रहरीको पहलमा सम्झाइबुझाइ गरेर भिड हटाउँदै सडक खुलाइएको थियो ।