प्रतिनिधिसभा निर्वाचनमा कोशीः युवा भर्सेस ‘वृद्ध’

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशमा पाका र अनुभवी नेतादेखि नयाँ र युवा पुस्तासम्मको रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगको अन्तिम नामावलीअनुसार यस प्रदेशमा ७० वर्ष नाघेका १३ जना ज्येष्ठ उम्मेदवार चुनावी मैदानमा छन्।

झापा क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारी दिएका ८३ वर्षीय हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशकै सबैभन्दा ज्येष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै, ओखलढुङ्गा–१ बाट राष्ट्रिय जनमोर्चाका ८० वर्षीय शेर बहादुर खत्री पनि मैदानमा छन्। प्रमुख दलका शीर्ष नेताहरू डा. शेखर कोइराला (७५), केपी शर्मा ओली (७४) र विजयकुमार गच्छदार (७२) पनि यसै उमेर समूहमा छन्।

पाका नेताहरूसँगै यसपटक २५ वर्षका युवाहरूले पनि नेतृत्वका लागि चुनौती दिएका छन्। मोरङ–४ बाट शालिकराम राई र मोरङ–५ बाट गंगा कुमारी राजवंशीले २५ वर्षकै उमेरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–१ मा २९ वर्षीया निशा डाँगी र तेह्रथुममा २८ वर्षीय सुरेन्द्र कार्की उम्मेदवार छन्।

प्रदेशका २८ निर्वाचन क्षेत्रमा कुल ४९५ जनाले उम्मेदवारी दिएका छन्, जसमा ९१ जना (१८.४ प्रतिशत) स्वतन्त्र छन्। उम्मेदवारहरूको सूचीमा महिलाको सङ्ख्या भने निकै न्यून देखिएको छ। ठूला दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन हिचकिचाउँदा इलामकी ज्वाला नेपाल, झापाकी सरिता प्रसाई र निशा डाँगीसहित केही सीमित महिला मात्र पुरुषसँग सिधा प्रतिस्पर्धामा छन्।

कोशीमा जातीय र भाषिक विविधता पनि स्पष्ट झल्किएको छ। पहाडी जिल्लामा राई र लिम्बू समुदायको बाहुल्य छ भने तराईका मोरङ, सुनसरी र झापामा राजवंशी, थारू, मधेसी र मुसहर समुदायको सशक्त प्रतिनिधित्व देखिएको छ। निर्वाचनमा ९ वटा यस्ता साना दल छन्, जसले प्रदेशभरिबाट केवल एक जना मात्र उम्मेदवार उठाएर आफ्नो उपस्थिति देखाएका छन्।