विराटनगर । मोरङको रंगेलीबाट नक्कली नोटसहित १ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेन पक्राउ परेका हुन् ।
नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा हुसेनले १-१ हजार दरका नक्कली नोट दिएको प्रहरीले जनाएको छ । नोट शंकास्पद लागेपछि पुरी र ढकालले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसलगत्तै पुगेको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घरमा समेत नक्कली नोट रहेको बताएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली राति ८ बजेतिर उनको घर पुगेको थियो ।
खानतलासी गर्ने क्रममा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक बस्ने सिटको डिकीभित्र १ हजार दरका २ वटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार हुसेनकै साथबाट पनि अर्को नक्कली नोट फेला परेको थियो ।
साथबाट बरामद भएको, पसलमा दिएको र सीटी सफारीमा फेला परेको गरेर ५ वटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । नक्कली नोटको धन्दामा ठूलै गिरोह संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपि, उनले नक्कली नोटहरु कहाँबाट ल्याएका हुन् र उनलाई कसले दिएको हो भन्ने यकिन भइसकेको छ । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर नक्कली नोटको कारोबार गर्ने गिरोहसम्म पुग्ने प्रयास प्रहरीले गरिरहेको छ ।