विराटनगर । सामान्यतया कर्मचारीको सरुवा सम्बन्धित मन्त्रालयको सचिवले गर्छन् । कर्मचारी सरुवाको दायित्व सचिवको हो । तर, कोशी प्रदेशका नयाँ स्वास्थ्य मन्त्रीले आफैँ कर्मचारीको सरुवा बदर गरिदिएका छन् । गत पुस २२ गते नियुक्त भएका मानबहादुर लिम्बूले ८ औँ दिनमै कानुन नै सचिवको अधिकार क्षेत्रमा रहेको कर्मचारीको सरुवा बदर गरेका हुन् ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सचिव स्तरीय निर्णयबाट मंसिर १७ गते विभिन्न अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा कार्यरत ३९ जना कर्मचारीहरूको सरुवा गरेको थियो । ती मध्ये राजनीतिक पहुँच भएका ६ जनाको सरुवा उनले बदर गरेका हुन् ।
जसमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुमा कार्यरत वैद्य निरीक्षक (छैटौँ) पदका केशव ढुंगानालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ओखलढुंगामा सरुवा गरिएको थियो । मन्त्री लिम्बूले उक्त निर्णय बदर गर्दै सोलुखुम्बुमै केन्द्रमै कायम गरेका छन् ।
जिल्ला अस्पताल सुनसरीमा सहायक अधिकृत (छैटौँ) पदमा कार्यरत राजकुमार मेहतालाई स्वास्थ्य कार्यालय धनकुटामा सरुवा गरिएको थियो । उनलाई पनि सरुवा बदर गर्दै जिल्ला अस्पताल सुनसरीमै कायम गरिएको छ ।
स्वास्थ्य कार्यालय धनकुटामा सहायक अधिकृत (छैटौँ) पदमा कार्यरत नारायणप्रसाद खनाललाई स्वास्थ्य कार्यालय उदयपुरमा पठाइएको थियो । खनाललाई पनि मन्त्री लिम्बूले धनकुटामै कायम गरेका छन् । यस्तै जिल्ला अस्पताल उदयपुरमा मेडिकल रेकर्डर सुपरभाइजर पदमा कार्यरत सुरेशकुमार पाण्डेलाई जिल्ला अस्पताल भोजपुरमा खटाइएको थियो । तर, उनलाई सो स्थानबाट डेढ महिनै नपुगी जिल्ला स्वास्थ्य कार्यालय धनकुटा पठाउने लिम्बूको निर्णय छ ।
स्वास्थ्य कार्यालय धनकुटामा ल्याब टेक्निसियन निरीक्षक (छैटौँ) पदमा कार्यरत विनोद गुरागाईंलाई स्वास्थ्य कार्यालय सोलुखुम्बुमा सरुवा गरिएको थियो । मन्त्री लिम्बूले भने सोलुखुम्बुबाट डेढ महिनामै पुनः काज सरुवा गर्दै धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।
स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत नायब गणेशप्रसाद भट्टराईलाई यसअघि जिल्ला स्वास्थ्य कार्यालय सुनसरी पठाइएको थियो । मन्त्री लिम्बूले उनलाई पनि पुनः उदयपुरमै कायम गरिदिएका छन् । पुस ३० गते गरेको मन्त्री स्तरीय निर्णय अनुसार सरुवा बदर गरिएको भन्दै ६ जना कर्मचारीलाई मन्त्रालयले माघ २ गते पत्र थमाएको छ । ‘प्रस्तुत विषयमा यस मन्त्रालयको मिति २०८२ /८/२५ गते (सचिव स्तर) को निर्णयानुसार भएको सरुवा यस मन्त्रालयको मिति २०८२/९/३० गते (मा. मन्त्रीस्तर) को निर्णयानुसार रद्द गरी साबिक बमोजिम नै यथावत् कायम राखिएको ब्यहोरा अनुरोध छ,’ सो पत्रमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले कर्मचारीको सरुवा गर्ने कानुनी आधार मन्त्रीलाई नभएको बताए । अधिकार नभए पनि सरुवा बदर गरेको जानकारी पाएको उनले बताए । यद्यपि मन्त्रीसँग गफ गर्न नपाएको उनको भनाई छ ।
अघिल्लो क्याबिनेट हुँदा गरेको निर्णयमध्ये अवधि नपुगेका कर्मचारीको सरुवा आफूले बदर गरिदिएको मन्त्री मानबहादुर राईले बताए । ‘पहिलेको क्याबिनेटले ३९ जनाको सरुवा निकालेको रहेछ, कार्य अवधि नपुगेका साथीहरूको हकमा निर्णय भएको हो,’ उनले भने, ‘दुई वर्ष अवधि नपुगेका कारण बस्न पाउँ भन्ने साथीहरूको हकमा त्यो निर्णय भएको हो ।’