दम्पत्ती हत्या आरोपमा चार जनामाथि अनुसन्धान शुरु

विराटनगर । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिना नबित्दै फेरि वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। यसअघि सोही क्षेत्रमा मगर दम्पतीको हत्या भएको घटनाले अझै त्रास कायम रहँदै गर्दा पुनः राई दम्पती मृत अवस्थामा फेला परेका हुन्।

भदौरे वडा नं. ६ को बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार घरको दोस्रो तलामा रहेको सुत्ने कोठामा खाटमा सिरक ओढिएको अवस्थामा चन्द्रविक्रम राईको शव फेला परेको थियो भने उनकी पत्नी चन्द्रमाया राईको शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा भेटिएको हो। घटनाको जानकारी आज बिहान करिब ७:४० बजे प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो।