धनकुटा । नेकपा (एमाले) का तर्फबाट धनकुटाका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा खेतीको वैधानिकतालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी उनले सार्वजनिक गरेको १४ बुँदे प्रतिबद्धता पत्रमा गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका हुन्।
पूर्वमन्त्री समेत रहेका राईले गाँजा खेतीका कारण कानुनी झमेलामा परेका निर्दोष नागरिकका मुद्दा पुनरावलोकन गरी उनीहरूलाई रिहाइ गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। धनकुटाको आर्थिक रूपान्तरणका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिबद्धता पत्रमा धरान–लेउती सुरुङमार्ग निर्माण, शिक्षण अस्पताल स्थापना र चौबिसे तथा महालक्ष्मीमा नमुना सहर बनाउने योजनाहरू पनि समावेश छन्। कृषि क्षेत्रमा चिया, एभोकाडो, सुन्तला र किवीजस्ता फलफूलको व्यावसायिक उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्ने राईको योजना छ।
यस्तै, नमस्ते झरनादेखि नाम्जेसम्म केबलकार निर्माण गर्ने, ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशाला बनाउने र खुवालुङ–लालीगुराँस पदमार्ग विकास गर्ने विषयलाई पनि उनले महत्त्वका साथ अघि सारेका छन्। राईले आफू सांसद र मन्त्री हुँदा सुरु भएका अधुरा योजनाहरू सम्पन्न गर्ने र किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने बताए।