सुनसरी–१ मा पञ्चकोणीय प्रतिस्पर्धा

सुनसरी । लामो समयसम्म ‘लट्ठी उभ्याए पनि जित्ने’ भनिँदै आएको सुनसरी–१ मा यसपटकको चुनाव नेकपा (एमाले)का लागि प्रतिस्पर्धा नभएर प्रतिष्ठाको लडाइँ बनेको छ ।

आगामी प्रतिनिधिसभा चुनावका लागि एमालेले ४० वर्षीय टीका माङलेनलाई उम्मेदवार बनाएपछि पार्टी संगठन पूरै शक्ति लगाएर मैदानमा उत्रिएको छ । इतिहास, संगठन र संख्यात्मक बलका आधारमा आफैँलाई स्वाभाविक दाबेदार ठान्दै आएको एमाले यस क्षेत्रको विगत फर्काउने दाउमा छ ।

तर, परिस्थिति पहिलेको जस्तो सरल छैन । सुनसरी–१ को धरान केन्द्रित राजनीतिमा हर्क साम्पाङ (हर्कराज राई) र नयाँ दलहरूको उदयले पुराना गणित उल्ट्याइदिने सम्भावना छ ।

यो क्षेत्रको संसदीय इतिहास एमालेका लागि सधैँ अनुकूल रहँदै आएको थियो । पञ्चायतकालदेखि नै कम्युनिष्ट धारका उम्मेदवारहरू हाबी भइरहे । २०४८ सालमा मनमोहन अधिकारीले यही क्षेत्रबाट जित्दै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्ने बाटो खोले ।

२०५१ को मध्यावधिमा लीला श्रेष्ठ सुब्बा मेन्याङ्बो, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राईले एमालेबाटै जिते । २०७९ मा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा)का अशोक राई विजयी भए ।

यसबीच २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले अपवादस्वरूप जित निकालेको थियो । कांग्रेसले भने आजसम्म संसदीय चुनाव जित्न सकेको छैन ।

यही पृष्ठभूमिले एमाले कार्यकर्तामा आत्मविश्वास र एक हिसाबको स्वामित्व भाव पनि निर्माण गरेको थियो । तर, स्थानीय तहको पछिल्ला नतिजाले त्यो विश्वासमा गहिरो दरार उत्पन्न गराएको छ ।

२०७६ सालमा धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले एमाले उम्मेदवारलाई हराउँदै इतिहास रचे । २०७९ मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मेयर जित्दा त्यो झड्का अझ ठूलो बन्यो ।

लगत्तै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेले क्षेत्र नै जसपालाई छाड्यो । एमालेको समर्थनमा अशोक राईले जिते । स्थानीय तहको निर्वाचनमा लगातार बिग्रँदो परिणामका कारण एमालेले यसपटकको प्रतिनिधिसभा चुनावलाई ‘कमब्याक’को अवसर मानेको छ ।

तर, एमालेका उम्मेदवार टीका माङलेन जनस्तरमा त्यति परिचित छैनन् । संगठन बलियो भए पनि उम्मेदवार चिनाउने चुनौती ठूलो छ । कतिपय स्थानीय बुद्धिजीवी एमालेको संरचनागत पकडका कारण अन्ततः जित निस्कने अनुमान गर्छन् ।

तर, राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा यस्तो आशावादसँग सहमत छैनन् । उनका अनुसार २०७९ को चुनावमै, हर्क साम्पाङको पार्टी नजन्मिँदै र बालेन शाह राष्ट्रिय राजनीतिमा नआउँदै, रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)की गोमा तामाङ ‘सरिन’ ले एमाले समर्थित उम्मेदवारलाई कडा चुनौती दिएकी थिइन् । अहिले रास्वपामा बालेनको सक्रिय उपस्थितिले सरिनको दाबी अझ बलियो बनेको शर्माको विश्लेषण छ ।

सुनसरीको क्षेत्र नम्बर १ मा धरान केन्द्रित राजनीति हाबी छ । धरानको सहरी मतदाता परम्परागत दलभन्दा फरक विकल्प खोजिरहेको देखिन्छ । यही खाली ठाउँमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी लोकप्रिय बन्दै गएको छ ।

श्रमदान अभियान, सिधा र कडा अभिव्यक्ति, सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले हर्कले विशेषगरी युवा र ‘स्वीङ’ मतदाता आकर्षित गरेका छन् । उनका समर्थकहरू उनलाई कडा नेता र व्यवस्था विरोधी प्रतीकका रूपमा हेर्छन् । कार्यकर्ताद्वारा पुराना नेताहरूको देवत्वकरण जस्तै हर्कका समर्थक पनि उनको प्रतिरक्षामा उभिने गरेको दृश्य धरानमा सामान्य भइसकेको छ ।

यद्यपि, यो चुनाव हर्कका लागि पनि सजिलो छैन । २०७९ मा जम्मा ४ सय ५३ मतले पराजित भएकी रास्वपाकी गोमा तामाङ ‘सरिन’ यसपटक बलियो चुनौतीका रूपमा उभिएकी छन् । कोरोना कालपछि धरानमै बसेर सामाजिक काममा सक्रिय रहेकी सरिनले अघिल्लो चुनावमा परिचय र संगठन कमजोर हुँदाहुँदै पनि उल्लेख्य मत पाएकी थिइन् । अहिले पार्टी संरचना, राष्ट्रिय पहिचान र एजेन्डासहित मैदानमा उत्रदा उनको सम्भावना बढेको मानिन्छ ।

प्रतिस्पर्धा यही २ वा ३ पात्रमा सीमित छैन । नयाँ संगठनात्मक स्वरूपमा आएको नेकपा (नेपाली कम्युनिष्ट पार्टी)ले सूर्यबहादुर भट्टराई ‘मनोज’लाई उम्मेदवार बनाएको छ । धरान–१७ बाट २ पटक वडाध्यक्ष जितेका मनोज सुकुम्बासी क्षेत्रमा प्रभावशाली मानिन्छन् ।

कार्यपालिका बैठकमा हर्क साम्पाङसँग बारम्बार हुने वादविवादका कारण उनलाई हर्कविरुद्धको ‘काउन्टर’का रूपमा पनि हेरिएको छ । खानेपानी, ल्याण्डफिल साइट र आधारभूत पूर्वाधारलाई मुख्य एजेन्डा बनाएका मनोजले सबै उम्मेदवारलाई नजिकका प्रतिद्वन्द्वी ठान्दै आएका छन् ।

कांग्रेसले यसपटक क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई अघि सारेको छ । २ दशकभन्दा बढी समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनिक सेवामा रहेका तामाङ आदिवासी जनजाति आन्दोलनमा पनि सक्रिय थिए ।

कांग्रेसको कमजोर संसदीय इतिहास तोड्ने आशामा उनी आदिवासी जनजाति मतदातामा भरोसा गरिरहेका छन् । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी उनका मुख्य मुद्दा हुन् ।

यसबाहेक पहिचानवादी धारका डम्बर लावती ‘जेन्टल’ उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । कुल १९ दल र ७ स्वतन्त्र गरी २६ उम्मेदवार प्रतिस्पर्धामा रहे पनि व्यवहारतः मुख्य ५ दलबीच पञ्चकोणीय भिडन्त हुने देखिन्छ ।

धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका १ देखि ५ सम्मका वडा, रामधुनीका ६ र ८ नम्बर वडा समेटिएको सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता छन् । पञ्चायतकालदेखि अनेक द्वन्द्व झेलेको यो क्षेत्र हाल पुरानो पहिचान र नयाँ राजनीतिक चेतनाको संगमस्थल बनेको छ । सुनसरी–१ मा एमालेको ऐतिहासिक विरासत जोगिन्छ कि हर्कको प्रभावले नयाँ अध्याय लेख्छ भन्ने कुराको फैसला आगामी फागुन २१ गते हुनेछ ।